काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (२०८०/०८१) का लागि राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको महत्त्वाकाङ्क्षी लक्ष्य अन्ततः फेल भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यो वर्ष मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८७ प्रतिशतले मात्र वृद्धि हुने जनाएको छ । यो उपभोक्ताको मूल्यमा आधारित प्रक्षेपण हो ।
यस्तो आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशतमात्र हुने तथ्याङ्क कार्यालयको भनाइ छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कलाई लिएर तयारी गरिएको रिपोर्टमा तथ्याङ्क कार्यालयले बाँकी चार महिनामा सबैजसो क्षेत्रको आर्थिक गतिविधि सामान्य रूपले सञ्चालन हुने र यस अवधिमा आर्थिक क्षेत्रमा त्यस्तो कुनै अप्रिय घटनासमेत नआउने देखिएको भन्दै ३.८७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।



