काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्यबराबरको सुरक्षण मुद्रण केन्द्र(सेक्युरिटी प्रिन्टङ मेसिन) प्रयोगमा नआउँदा अन्तःशुल्क स्टिकरको छपाइको काममा विदेशी कम्पनीको भर पर्नुपरेको छ । विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडांै रुपैयाँ बाहिर गइरहेको छ । हाल नेपालको अन्तःशुल्कको कामको ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले गर्दै आइरहेको छ ।
सो कम्पनीले अन्तःशुल्क, स्मार्ट लाइसेन्सलगायतको काम पाउँदा बेलाबेलामा बार्गेनिङ(सौदाबाजी) गर्ने र छपाइको काममा ढिलाइ गर्दै आइरहेको छ । २०७६ सालमा आन्तरिक राजस्व विभागले करिब ८ अर्ब थान अन्तःशुल्क स्टिकर खरिद प्रक्रिया सुरु गरेदेखि नै अन्तःशुल्कको विषय विवादमा परेको थियो । त्यतिबेला विभागले प्रतिस्टिकर न्यूनतम ३२ सेन्ट अमेरिकी डलर (करिब ३२–३३) नेपाली रुपैयाँ पर्नेगरी स्टिकर खरिदको प्रक्रिया अघि बढाएको थियो । तर, व्यवसायीले भारतको सेक्युरिटी प्रिन्टिङ प्रेससँगै साँठगाँठ गरेर नक्कली स्टिकर खरिद गरेको भेटेपछि कडाइ गरेको थियो ।



