काठमाडौं । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा अडलट कारोबार बढ्दो गतिमा देखिएको छ । सय रुपैयाँ अंकित मूल्यको १० कित्ताभन्दा कम धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिन्छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सार्वजनिक गरेको पछिल्लो ६ महीनाको तथ्यांक हेर्दा चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको धितोपत्र अडलटमा कारोबार भएको छ । नेप्सेका अनुसार दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँभन्दा बढीको १ करोड ४१ लाख कित्ता धितोपत्र अडलटमा कारोबार भएकोमा तेस्रो त्रैमासमा ५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको २ करोडभन्दा बढी कित्ता कारोबार भएको हो । पछिल्लो ६ महीनाको कारोबार हेर्दा चैतमा सर्वाधिक अडलट कारोबार भएको छ । यो महीना २ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको १ करोड ५२ लाखभन्दा बढी कित्ता अडलट कारोबार भएको हो ।



