बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घटेर आधा भएपछि गत वर्ष मुद्दती निक्षेपमा पैसा राख्नेहरुले अहिले मुद्दती निक्षेप नविकरण गर्न छोडेका छन्। जसले गर्दा बैंकहरुमा मुद्दती निक्षेपको हिस्सा घटेको छ भने बचतको हिस्सा बढेको छ।
पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर करिब आधा घटेको छ। १२ प्रतिशतसम्म ब्याजदरमा मुद्दती निक्षेप राखेका निक्षेपकर्ताले अहिले ६ प्रतिशत ब्याजदरमा नविकरण गर्नुपर्ने अवस्था छ। यसले गर्दा पनि कतिपय निक्षेपकर्ताले अहिले मुद्दती निक्षेप नविकरण नगरी अन्य लगानीको क्षेत्र खोज्न थालेका छन्।
गत मंसिरमा वाणिज्य बैंकहरुको कुल निक्षेपमा मुद्दतीको हिस्सा ५९.१८ प्रतिशत थियो जुन फागुनसम्ममा ५७.१८ प्रतिशतमा झरेको छ। यसले बैंकहरुको मुद्दती निक्षेपका हिस्सा घट्दै गएको देखाउछ। माघमा कुल निक्षेपमा मुद्दतीको हिस्सा ५८.०७ प्रतिशत रहेकोमा फागुन एक महिनामा नै मुद्दतीको हिस्सा करिब १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाउँछ। यो पैसा बैंकबाट ननिकालिएको भए पनि मुद्दती निक्षेप नविकरण नगर्दा सो पैसा बचततर्फ सरेको छ।



