काठमाडौं । साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासँगै सोमबार तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन समापन भयो । एक दर्जन सम्झौता भए । सबै दल र निजी क्षेत्रले एकै ठाउँमा उभिएर लगानीको आह्वान गर्दै नेपालमा लगानीको वातावरण बनेको र उदार आर्थिक नीतिका लागि प्रतिबद्ध रहेको बताए ।
सम्मेलनपछि सरकारले लगानी सम्मेलन भव्यताका साथ सम्पन्न भएको दाबी समेत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको दाबी गरे । उनले लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट मध्येको लगानी गन्तव्य भएको पुष्टि भएको बताए । लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी मुलुकबाट आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।



