काठमाडौं । धितोपत्र कारोबारमा ब्रोकरहरूले लिइरहेको कमिसन थोरैले घट्ने निश्चित भएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डले गत कात्तिक १ गते गरेको ब्रोकर कमिसन घटाउने निर्णय स्वीकृत गरेपछि ब्रोकर कमिसन घट्ने पक्का भएको हो ।
लगानीकर्ताहरूको लामो समयदेखिको मागबमोजिम बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउने निर्णय गरेका थिए । ‘लगानीकर्ता रहे मात्र धितोपत्र बजारको औचित्य रहने’ तर्क गर्दै उनले सो निर्णय लिएका थिए । उनले त्यसबेला ब्रोकरको मात्र नभएर बोर्डकै कमिसन समेत घटाउने निर्णय गरेका थिए । वैशाख १२ गते मन्त्रीस्तरीय बैठकबाट निर्णय गराएर अर्थमन्त्री वर्षमान पुनले बोर्डलाई ब्रोकर कमिसन घटाएर कार्यान्वयन गर्ने बाटो खुला गरिदिएको अर्थ मन्त्रालय स्रोतले आर्थिक अभियानलाई जानकारी दियो । बोर्डमा पनि यस सम्बन्धमा अर्थ मन्त्रालयले लिएको निर्णयको पत्र प्राप्त भइसकेको बोर्ड उच्च स्रोतले जानकारी दिएको छ ।



