काठमाडौं । पछिल्ला वर्षहरूमा सरकारको कर बक्यौता बढ्दै गएको छ । तोकिएको अवधिभित्र कर नबुझाए करदाताको सम्पत्तिमाथि दाबी गर्ने, त्यसको लिलाम, विक्री तथा नेपालबाहिर लैजान रोक लगाउने, भुक्तानी लिने र खाता रोक्का गरी बक्यौता असुल्न सकिने व्यवस्था मूल्य अभिवृद्धि कर ऐनमा छ । तर कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रत्येक वर्ष बक्यौता चुलिँदै गएको हो ।
गत आर्थिक वर्ष २०७९/८० सम्ममा रू. एक खर्ब १३ अर्ब सात करोड ५८ लाखबराबर कर बक्यौता उठ्न बाँकी छ । आन्तरिक राजस्व विभागका अनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कलगायत शीर्षकमा उक्त परिमाणको कर उठ्न सकेको छैन । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रू. ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार सात सय रहेको कर बक्यौता रकम एक वर्षमै रू. ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार थपिएको छ ।



