काठमाडौं– मुलुकको अर्थतन्त्र लयबाहिर जाँदा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अझै बढ्ने जोखिम बढेको छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकार असफल हुँदा यसको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको हो । फलस्वरुप चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा अत्यधिक बढेको छ । खराब कर्जा अझै बढ्ने जानकारहरूले बताएका छन् भने सरोकारवाला पनि यसको चिन्तामा छन् ।
चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औषतमा खराब कर्जा अनुपात साढे ३ प्रतिशत पुगेको छ । एउटा बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत माथि छ भने आधा दर्जन बैंकको ५ प्रतिशत नजिक पुगेको छ । विकास बैंकहरूको पनि औषत खराब कर्जा अनुपात ६ प्रतिशतभन्दा माथि छ । वित्त संस्था र लघुवित्तहरूको खराब कर्जा अनुपात झनै माथि पुगेको छ । खराब कर्जा बढ्दा सबैको नाफा प्रभावित भएको छ ।



