काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले एक सातादेखि गुणस्तर परीक्षणको नाउँमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दक्षिण छिमेकी भारत नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार हुने मुलुक पनि हो ।
नेपालको वैदेशिक व्यापारको करिब दुई तिहाइ हिस्सा ओगटेको भारतले हरेक वर्ष जस्तै नेपाली कृषि उत्पादनको निकासीमा विभिन्न बहानामा रोक लगाएकोप्रति महासंघ आश्चर्य चकित परेको जारी एक विज्ञप्तिमा लेखिएको छ । लामो इतिहास रहेको नेपालको चिया उद्योगले अन्तर्राष्ट्रिय स्तरको परीक्षण ल्याबको अभावमा निर्यातका लागि निकै धेरै चुनौतीहरू भोग्दै आएको छ ।



