झापा, बैशाख १० गते । झापा जिल्लाको विभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर इन्द्रसरोबर गाउँपालिका पाँचका ३० वर्षिय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका आठका २८ वर्षीय अजय राना मगर रहेका छन् । विभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको विभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा वैशाख सात गते पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल दुई थान, सहकारी चोरीमा प्रयोग गरेको विभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ ।
उनिहरुले विभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ । पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



