काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले घुसबापतको रकम सिंगापुरस्थित एक बैंकमा जम्मा गरेको तथ्य खुलेको छ।
सूचना प्रविधिसम्बन्धी विभिन्न ठेक्कापट्टा दिलाएबापत उनले घुस लिने गरेको र त्यस्तो रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा लुकाएर राखेको पाइएको छ। पटक–पटक गरेर उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २ सय २६ रुपैयाँँ जम्मा भएको पाइएको छ। पौडेलको सम्पत्तिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो। आयोगका अनुसार विभिन्न अन्तर्राष्ट्रिय कम्पनीलाई ठेक्का दिएबापत सिंगापुरमा बैंकमार्फत भुक्तानी लिएको पाइएको छ।



