जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताको अभाव भएको अवस्था नै यथार्थमा गरिबी हो । पेटभरि खान नपाउनु, बस्नका लागि घर नहुनु, बिरामी भएको बेला औषधि–उपचार गर्न नसक्नु, सन्तानलाई समयअनुसारको उचित शिक्षादीक्षा प्राप्त गर्न शिक्षालयसम्म पठाउन नसक्नुलगायतका जीविकाको सवालमा दुःख, पीडा, निराशाजस्ता कुराहरू झल्किने आर्थिक तथा भौतिक विपन्नता हो, गरिबी ।
गरिब मान्छे देखेपछि चिन्न जति सजिलो हुन्छ, तथ्यांकद्वारा गरिबीको पहिचान गर्न र गरिबी गन्न भने त्यति सजिलो छैन । त्यसैले गरिबीलाई निरपेक्ष तथा सापेक्ष रूपमा वर्गीकरण गरिन्छ । मानिसलाई बाँच्नका लागि अत्यावश्यक पर्ने न्यूनतम आवश्यकताहरू जस्तै न्यून स्तरको खाना, ओत लाग्ने घर तथा आङ ढाक्ने लत्ताकपडाको आवश्यकतासमेत पूरा नभएको अवस्थालाई निरपेक्ष गरिबी भनिन्छ । यिनै निरपेक्ष गरिबीलाई वास्तवमा गरिबीको रेखामुनिका गरिबी भनेर पहिचान गर्ने गरिन्छ । निरपेक्ष गरिबी भनेको पर्याप्त पोषण तथा अत्यावश्यक गैरखाद्य वस्तुहरूमा खर्च गर्नका लागि आवश्यकताभन्दा कम आयको स्तर हो । अर्थात् निरपेक्ष गरिबीले जीवन निर्वाहका लागि आवश्यक न्यूनतम क्षमता नभएको अवस्थालाई चित्रण गर्छ ।



