विश्वका समृद्ध र शक्तिशाली मानिने देशमा जापान र इटाली लगायतका पर्छन्। तर ऋणको मामिलामा यी देशहरु शीर्ष स्थानमा पर्छन्। यस मामिलामा जापान पहिलो स्थानमा छ।
देशको ऋण उनीहरूको जीडीपीको अनुपातमा हेरिन्छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ऋण धेरै बढ्यो भने यसले समस्या निम्त्याउन सक्छ, तर कम ऋण भएका देशहरू सधैँ सुखी वा समृद्ध हुन्छन् भन्ने हुँदैन। देशका केन्द्रीय सरकारहरूले देश भित्र र बाहिर दुवै तर्फ ऋण लिने गर्छन्। यो ऋण देशको उन्नतिमा खर्च गरियो भने दीर्घकालमा राष्ट्रलाई समृद्ध बनाउन सहयोग पुग्छ। कम ऋण–जीडीपी अनुपातले कहिलेकाहीँ त्यो देशको जीडीपी निकै कम छ र कतैबाट ऋण लिन सक्षम छैन भन्ने पनि संकेत गर्दछ। तर, कम ऋण भएका स्विट्जरल्याण्ड र नर्वे जस्ता देशहरू पनि खुसी देशको रूपमा गनिन्छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको वेबसाइटमा दिइएको जानकारीका आधारमा यी नामहरू दिइएको हो।
कुन देशमा छ सबैभन्दा कम ऋण?
जीडीपीको तुलनामा सबैभन्दा कम ऋण भएको देश ब्रुनाई दारुसलम हो। यसको जीडीपीको तुलनामा २.०६ प्रतिशत मात्र ऋण छ। यो देश धनी देशहरूमा गनिन्छ। त्यसपछि दोस्रो स्थानमा कुवेत रहेको छ, जहाँ जीडीपी–ऋण अनुपात २.९२ प्रतिशत छ। तेस्रो स्थानमा तुर्कमेनिस्तान रहेको छ, जसको ऋण कुल गार्हस्थ उत्पादनभन्दा ५.१९ प्रतिशत बढी छ। जीडीपीको तुलनामा ७.५९ प्रतिशत बढी ऋण भएको टुभालु चौथो स्थानमा छ भने नर्वे पाँचौं स्थानमा छ। जीडीपीको तुलनामा नर्वेको १३.१७ प्रतिशत ऋण छ। आईएमएफका अनुसार नेपालकाे जीडीपीकाे तुलनामा ४१.४० प्रतिशत ऋण छ भने भारतको ५६ प्रतिशत ऋण छ।



