चालु आर्थिक वर्षको नौ महिनासम्ममा पनि बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत पनि कर्जा विस्तार गर्न नसकेको देखिएको छ। बजारमा माग नै कम रहेको कारण बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन सकेका छैनन्।
बैंकहरुमा अहिले सिडि रेशियो समेत ८० प्रतिशतमा झरेको छ। ९० प्रतिशतसम्म कायम गर्न पाइने सिडि रेशियो अहिले ८०.८२ प्रतिशतमा झरिसकेको छ। यसले बैंकहरुमा ५ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम रहेको देखाउँछ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६२ अर्ब अर्थात ६.२७ प्रतिशतले बढेको छ। यसमा सरकारले स्थानीय तहको रकमलाई गणना गर्न दिएको एक खर्ब बढी रकम घटेको छ। वास्तवमा तेस्रो त्रैमाससम्ममा बैंक वित्तीय संस्थाको निक्षेप साढे ४ खर्ब बढीले बढेको छ।



