काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको अवस्था सुधार्न आफूले सकारात्मक हस्तक्षेप नगरेको भए हालको अर्थतन्त्र अझै भद्रगोल र सन्त्रासपूर्ण हुने दाबी गरेका छन् । मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीलाई बेलाबखत हुने मन्त्रीहरूको हेरफेरलाई अस्थिरताका रूपमा नबुझ्न पनि आग्रह गरे ।
‘उद्योगी व्यवसायीलाई असुरक्षित वातावरण बन्न नदिनका लागि मैले धेरै मिहिनेत गरेको छु, जुन तपाईंहरूलाई राम्रोसँग थाहा छैन,’ उनले भने, ‘कतिपय सन्दर्भमा प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए अझै ठूलो भद्रगोल र सन्त्रासको वातावरण बन्न सक्थ्यो, यो पक्ष पनि तपाईंहरूले नोट गर्नुपर्छ ।’


