काठमाडौं : सन् २०२४ को पहिलो त्रैमासमा एप्पलको आइफोन बिक्रीमा उच्च गिरावट आएको छ । साओमी, ट्रान्सियनलगायत चिनियाँ फोनहरुले चुनौती दिएपछि आइफानको बिक्री पहिलो त्रैमासमा करिब १०% ले घटेको इन्टरनेसनल डेटा कर्पोरेसन (आइडीसी) को रिपोर्टले देखाएको छ । एप्पलले सन् २०२४ को पहिलो त्रैमासमा ५ करोड १ लाख आइफोन बिक्री गरेको छ । जुन सन् २०२३ को सोही अवधिमा बिक्री गरेको ५ करोड ५४ लाखको तुलनामा ९.६% थोरै हो ।
अर्कोतर्फ, यसअवधिमा चिनियाँ फोनहरुकोे बिक्रीमा भने दोहोरो अंकको वृद्धि भएको आइडीसीको रिपोर्टलाई उद्धृत गर्दै सीएनबीसीले लेखेको छ । रिपोर्टमा शीर्ष ५ स्मार्टफोन ब्रान्डहरु मध्ये एप्पलले सबैभन्दा तीव्र गिरावट भोगेको हो । गत वर्षको अन्त्यमा एप्पलसँग विश्वको सबैभन्दा ठूलो फोन उत्पादक कम्पनीको ताज गुमाएको सामसुङले सन् २०२४ को पहिलो त्रैमासमा भने पुनः शीर्ष स्थान हासिल गर्न सफल भएको छ ।



