काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता भए पनि ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ मात्रै भित्रिएको छ । विदेशी लगानीको प्रतिबद्धता र भित्रने रकमबीच ठूलो अन्तर रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो ।
उद्योग विभागका अनुसार गत चैतमा १६ वटा नयाँ उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो रकमसहित चालु आर्थिक वर्षको ९ महिनामा कुल २६९ वटा नयाँ उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख विदेशी लगानी प्रतिबद्धता आएको हो । राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार भने ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ भित्रिएको छ । सबैभन्दा बढी साउनमा २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ भित्रिएको हो । यो महिनामा ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।


