यो वर्ष सरकारी खर्च अस्वाभाविक न्यून देखिएको छ। विशेषगरी चालु प्रकृतिको खर्चमा आश्चर्यजनक रूपमा नै कमी आएको सरकारी आय-व्ययको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ।
चालु खर्च अन्तर्गत विशेष गरी संघीय सरकारको प्रशासनिक खर्च, तलब भत्ता, सरकारले गर्ने सभा सेमिनार, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले दिने विभिन्न किसिमका ब्याज अनुदान तथा सहुलियत, मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तीको मर्मत सम्भारमा गर्ने खर्चहरू पर्दछन्।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार यस्तो चालु प्रकृतिको खर्च विगत वर्षको तुलनामा ६२ अर्ब ७४ करोड अर्थात् करिब नौ प्रतिशतले कमी आएको थियो।



