काठमाडौं : चीनको सेयर बजार नियामकले सेयर बजार सुधार गर्न र लगानीकर्ताको हितको रक्षा गर्न कम्पनीहरुको सूचीकरण, डिलिस्टिङ र क्वान्ट ट्रेडिङका नियमहरुलाई सुदृढ पार्न नयाँ नियमावलीको मस्यौदा जारी गरेको छ । चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी) ले अयोग्य कम्पनीहरुलाई बजारबाट बाहिर निस्किन बाध्य पार्ने गरी डिलिस्टिङ आवश्यकताहरुलाई बलियो बनाउने भएको रोयटर्सले उल्लेख गरेको छ ।
सूचीकृत कम्पनीहरुको गुणस्तर सुधार गर्न सीएसआरसीले सेयर बजारको मुख्य बोर्ड र प्रविधि केन्द्रित ‘चाइनेक्स्ट’ मा सूचीकृत कम्पनीहरुको सञ्चालन आम्दानी र खुद नाफा सम्बन्धी आवश्यकताहरुमा मध्यम वृद्धि गर्ने योजना बनाएको छ । प्रस्तावित नियमहरु फेब्रुअरीमा चीनको सेयर बजार ५ वर्षयताकै तल्लो तहमा खसेपछि लगानीकर्ताहरुको विश्वास पुनर्जीवित गर्न अपनाइएका विविध उपायहरुकै हिस्सा हुन् ।





