लगानीमैत्री ऐन, कानुन बनाउन पटकपटक सुझाव दिइए पनि सरकारले पहल नगरेको निजी क्षेत्रको आरोप छ । तीन तहका सरकारबीच समन्वय नहुँदा पनि व्यवसाय गर्ने वातावरण नबनेको निजी क्षेत्रका उद्यमी–व्यवसायी बताउँछन् ।
यस्तै, निजी क्षेत्रलाई तीनै तहका सरकारको ध्यान नै कर कसरी उठाउने भन्नेमा मात्रै केन्द्रित भएको तथा अर्थतन्त्र ‘ओभरट्याक्स’ भएको उनीहरूको आरोप छ । मुलुकमा व्यावसायिक वातावरण किन बन्न सकेन ? भनेर अन्नपूर्ण पोस्ट्कर्मी सुनिता कार्कीले ११ क्षेत्रका व्यावसायिक प्रतिनिधिसँग गरेको कुराकानी :
ऐन, कानुन नियन्त्रणमुखी भएहरिभक्त शर्मा, कार्यकारी निर्देशक देउराली जनता फर्मास्युटिकल्स् प्रा.लि.
मुलुकका ऐन, कानुन संशोधन गर्नुपर्छ भनेर व्यवसायीले भन्न थालेको लामो समय भयो। पुराना त पुरानै भए, नयाँ बनाइएका कानुन पनि व्यवसायीमैत्री भएनन्। कानुन जति नियन्त्रणमुखी मात्रै भए। व्यवसाय र रोजगारी प्रवद्र्धन गर्ने गरी व्याख्या गरिएन। उद्योगधन्दा चलाउने र रोजगारीका अवसर सिर्जना गर्नेलाई कारबाही धेरै भयो। यति धेरै कारबाहीको भागीदार हुनुपर्ने भयो कि काम गर्नेभन्दा नगर्नु नै राम्रो भन्ने मानसिकता विकास भइरहेको छ। उद्योगधन्दाप्रतिको वातावरण नै नकारात्मक भइरहेको छ। सरकारले आउँदो वैशाख १६ र १७ गतेको लगानी सम्मेलन गर्दैछ। त्यसअघि नै लगानीमैत्री कानुन ल्याउने गरी संशोधन गर्ने भनेको पनि छ।
कोभिडसँगै संसारभरि समस्या आए। मुलुकका उद्योगधन्दाले पनि अप्ठ्यारो स्थिति व्यहोरे। किनकि धेरैजसो सामान हामीले आयात गरेर नै ल्याउँछौ। अर्को भनेको, हाम्रो गणतन्त्रलाई हाम्रो अर्थतन्त्रले धान्न सकेन।



