पछिल्लो समय बढ्दो क्रममा रहेको खराब कर्जा घटाउन बैंकहरुले हरसम्भव प्रयास गरिरहेका छन्। बैंकहरुले खराब कर्जा घटाउन धितो लिलामी गर्नेदेखि कर्जा तिर्ने ग्राहकलाई छुट समेत दिन थालेका छन्।
अहिले राष्ट्रिय दैनिकहरु ऋणीलाई कर्जा तिर्नको लागि निकालिएको ३५ दिने सूचना, धितोमा रहेका सम्पत्ति लिलामी गर्ने सूचना र लिलामीमा नबिकेर बैंक आफैले सकारेका गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्नको लागि निकालिएको सूचनाले भरिभराउ हुन्छ। लिलामीमा निकालिएका धितो बिक्री नहुँदा बैंकहरुले बारम्बार सूचना प्रकाशित गर्नु परेको छ। रियल स्टेट क्षेत्रमा कारोबार नबढेको कारण पनि बैंकहरुले लिलामीमा निकालेका धिताे बिक्री हुन सकेका छैनन्।
विगत एक/डेढ वर्षदेखि नै बैंकहरुको कर्जा असुलीमा समस्या आइरहेको छ। जसले गर्दा बैंकहरुको खराब कर्जा ह्वातै बढेर गएको छ। खराब कर्जा बैंकहरुको लागि टाउको दुखाइको विषय बनेको छ। केहि बैंकको खराब कर्जा ५ प्रतिशत नजिक पुगिसकेको अवस्था छ। ५ प्रतिशतभन्दा माथि खराब कर्जा पुगेमा राष्ट्र बैंकले बैंकहरुलाई लाभांश नै दिन रोक्ने लगायतका शीघ्र सुधारात्मक कारवाही गर्छ। कारवाहीमा पर्ने डरले पनि निष्क्रिय कर्जा धेरै भएका बैंक तथा वित्तीय संस्थाहरु यस्ता कर्जा असुलीलाई प्राथमिकता दिएका हुन्।



