चितवनका इच्छाकामना गाउँपालिका–२ हपनीका वडाध्यक्ष पञ्च चेपाङ भन्छन्– ऋण गर्न पर्यो भने काउलेतिरका बखते जन्तरे, आउले रायमाझीहरूकहाँ गइन्थ्यो। ३५ वर्ष अघिसम्म अर्थात् सामन्तवादी राज्य व्यवस्था भएका बखत साहुसँग सय रुपैयाँ ऋण लिन सुरुमा एउटा बोका अथवा एक सेर (पाँच सिल) माछा कोसेली बुझाउनु पथ्र्यो। वर्ष पुगेपछि ब्याजबापत १० पाथी तोरी (तत्कालीन मूल्य ६०) थपेर साँवा ब्याज बुझाउनु पथ्र्यो। प्रतिशतमा हेर्ने हो भने यसलाई १०० मान्न सकिएला। यो गरिबमारा काइते नियम शोषणको पराकाष्टा थियो।
प्रजातन्त्र हुँदै देश गणतान्त्रिक युगमा प्रवेश गरेको पनि आठ वर्ष नाघिसकेको छ। साहुसँग ऋणबापत ४० केजी धान लिएको एउटा निमुखा गरिब पटकपटक सावाँब्याज तिर्दा पनि साहुले मेरो उठीबास लगायो भन्दै आन्दोलनकारीको भिडमा मिसिन्छ। अनि सरकारसँग हारगुहार गरिरहन्छ। यसलाई प्रतिशतमा कसरी हिसाब गर्न सकिएला ! प्रायः सबै ठूला दलले आफ्ना दस्तावेजमा समाजवाद शब्द उल्लेख गरेका छन्। संविधानको प्रस्तावनाले पनि समाजवादमा प्रतिबद्ध रहने कुरा गरेको छ तर अभ्यास भने चरम पुँजीवादी गरिरहेका छौं। करनी र कथनीमा भएको भिन्नताले कतै समाजवाद उन्मुख अग्रगामी यात्रालाई पश्चगमनको बाटोमा धकेल्न बल त पुर्याइरहेको छैन ?



