काठमाडौं : २०६० सालमै सरकारले विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको निर्णय गर्यो। मुलुकमा उत्पादन बढाउने, निर्यात गर्ने, रोजगारी सिर्जना गर्ने र देशी–विदेशी लगानी भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने यसको मूल उद्देश्य थियो। तर, २० वर्ष पुग्दा पनि न सेजमा पर्याप्त उद्योग स्थापना भए, न त रोजगारी नै सिर्जना भयो।
विराटनगर, धनगढी, पाँचखाल र गोरखामा त सेज स्थापनाको काम नै अघि बढेको छैन। सिमरा र भैरहवामा केही उद्योग त खुलेका छन, तर अपेक्षाकृत परिणाम छैन। सरकारले सेज बनाए पनि उद्योग–कलकारखाना स्थापनाका लागि सहज वातावरण नबनाएको उद्योगी व्यवसायीको गुनासो छ। महँगो भाडादर, आपूर्तिसम्बन्धी नीति, बैंक ग्यारेन्टी लगायतका झन्झटिला व्यवस्थाका कारण सेजमा उद्योग स्थापना गर्न कठिनाइ भएको उद्योगी–व्यवसायीको गुनासो छ।



