काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइसँगै बैंक, वित्तीय संस्थाबाट ओभरड्राफ्ट तथा चालू पूँजी शीर्षकमा कर्जा प्रवाह घट्न थालेको छ । तर, राष्ट्र बैंकले लचिलो नीति लिँदा नगद प्रवाहमा आधारित (क्यास क्रेडिट), आवधिक कर्जाका साथै व्यक्तिगत घरजग्गा तथा शेयर धितो शीर्षकमा कर्जा बढ्न थालेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को फागुनसम्ममा बैंकहरूको सबैभन्दा बढी ओभरड्राफ्ट कर्जा ४३ प्रतिशतले घटेको छ । गत आवमा पनि यो कर्जा ६७ दशमलव ७ प्रतिशतले घटेको थियो । यस्तै राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरे पनि चालू पूँजी शीर्षकमा पनि बैंकहरूको कर्जा प्रवाहमा कमी आएको छ । ऋणीले जुन प्रयोजनको लागि लिएको हो त्यही प्रयोजनमा मात्र खर्च गरून् भनेर यो मार्गदर्शन ल्याइएको थियो ।



