काठमाडौं । विगत १ दशकदेखि सामाजिक सुरक्षा कर शीर्षकमा श्रमिकबाट उठाइँदै आएको अर्बौं रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्न सरकारले आनाकानी गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा करबापत संकलन गरिएको रकमसमेत सामाजिक सुरक्षा कोषले नै परिचालन गर्न पाउने व्यवस्था छ । ऐनको दफा २६ मा उपदफा २ (ङ) मा सामाजिक सुरक्षा करबापत हालसम्म संकलित र भविष्यमा संकलन हुने रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था गरिएको छ । तर, अर्थ मन्त्रालयले हालसम्म उक्त रकम कोषलाई हस्तान्तरण गरेको छैन ।
ऐनको यो प्रावधान विपरीत हुने गरी अर्थ मन्त्रालयले हालसम्म सामाजिक सुरक्षा करको नाममा उठाएको कुनै रकम कोषलाई हस्तान्तरण नगरेको कोषका अधिकारीहरू बताउँछन् ।



