काठमाडौँ — वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव जीवनप्रकाश सिटौलासहित २४ नेपाली, ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबी गरेर बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।


