काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् ।
सहकारीको रकम अपचलनमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन संसद्मा माग गर्दै आएको छ । लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहरा, वीरगन्जको सानोपाइला, बुटवलको सुप्रिम र नेपालगन्जको समानता सहकारीबाट रकम ल्याइएका पुष्टि हुने दस्ताबेज सार्वजनिक भइसकेका छन् ।


