काठमाडौँ — नेपालको व्यावसायिक वातावरण सुधारका लागि पुँजीगत खर्च कार्यान्यवनलाई प्रभावकारी बनाउनुका साथै व्यावसायिक मनोबल बढाउन आवश्यक रहेको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले बताएका छन् । नेपालले ‘व्यवसाय’लाई पुन:व्याख्या गरी त्यसमा डिजिटल उद्यमशिलता समावेश गरी त्यसको प्रवर्धनमा ध्यान दिइनुपर्ने उनले औंल्याए ।
सूचना प्रविधि क्षेत्रका कम्पनीहरूले नेपालमा राम्रो गरिरहेको विश्व बैंकका अधिकारीहरूको धारणा छ । ‘डिजिटल उद्यमशिलताबारे यहाँ पर्याप्त चर्चा भएको छैन, त्यसलाई प्रवर्द्धन गर्ने गरी इकोसिस्टम विकास गर्नुपर्छ,’ मंगलबार नेपाल डेभलपमेन्ट अपडेटका मूल विषयबारे जानकारी दिने क्रममा जर्भोसले भने, ‘युवाहरूले सञ्चालन गरेका फ्युजमेसिन, इन्सेसेन्ट रेन, ई-सेवाजस्ता कम्पनी नेपालमा छन्, म अझै धेरै नामहरू भन्न सक्छु । अब नेपालको अर्थतन्त्र विस्तार गर्ने उनीहरूले नै हो ।'


