काठमाडौं । बैंक, वित्तीय संस्थासँग करीब साढे ६ खर्ब लगानीयोग्य पूँजी थुप्रिएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब नाघेको छ । यो हालसम्मकै उच्च निक्षेप हो । त्यसमध्ये वाणिज्य बैंकहरूमा ५४ खर्ब ८७ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीमा ७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।
यसैगरी शनिवारसम्म बैंकहरूको कर्जा प्रवाह पनि ५० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूले ४४ खर्ब ९८ अर्ब रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीले ५ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले बताएको छ ।



