सुनकाे मुल्यले ऐतिहासिक रेकर्ड कायम गरिरहेकाे छ । शुक्रबार सुनकाे भाउ हालसम्मकै उच्च मुल्यमा काराेबार भइरहेकाे छ । शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रतिताेला एक लाख ३० हजार रूपैयाँ पुगेको छ।
गत साता जस्तै यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हाे । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पछिल्लो कारोबार भएको दिन अर्थात शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । पछिल्लाे तीन दिनमा नै सुन ताेलामा ३ हजार ६०० रूपैयाँले महंगिएकाे हाे ।
किन महंगिदैछ सुन ?
विश्व बजारमा सुनकाे भाउ आकाशिएसँगै नेपाली बजारमा पनि यसकाे प्रभाव परेकाे हाे । अमेरिकी डलरको मुल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन्।
विश्व बजारमा यतिबेला अमेरिकन फेडरल बैंकले पटक पटक ब्याजदर घटाउने भनेका कारण पनि सुनकाे भाउ बढ्न सहयाेग पुगेकाे छ । लगानीकर्ताहरूले बैंकबाट रकम निकाल्दै सुनमा लगानी गरेकाे हुँदा पनि सुनकाे माग बढेकाे छ । जसकारण सुनकाे भाउ ह्वात्तै बढेकाे विश्लेषकहरूले बताइरहेका छन् ।



