१६ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कमजोरी गर्ने र मापदण्ड विपरीत काम गर्ने सहकारीलाई ‘सिस्टम’ मा ल्याउनैपर्ने बताएका छन् ।
‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले सहकारी गठन र दर्ता कसरी गरियो भन्ने पनि चासोको विषय बनेको बताए ।
‘कतिपय सहकारी काठमाडौं बस्ने र सरकारको कार्यक्रम लिएर गएको ठाउँमा कार्यक्षेत्र लिएर जाने र त्यहाँ केही समय राम्रो गरेको जस्तो गर्ने अनि जनता ठगेर फर्किने गरेको देखिन्छ,’ मन्त्री अधिकारीले भने, ‘एउटा उद्देश्यबाट सहकारी दर्ता भयो । सहकारी दर्ताको उद्देश्य अभियन्ताले लागु गरेका छन् कि छैनन्, यसको समीक्षा हुनुपर्छ ।’



