रोकिएको आईपीओ आउने साता स्वीकृत हुँदै, सबैभन्दा पहिले कसले पाउँछ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रोकिएको आईपीओ आउने साता स्वीकृत हुँदै, सबैभन्दा पहिले कसले पाउँछ ?

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले रोकिएका आईपीओ निष्काशन अनुमति आउने साताबाट स्वीकृत गर्ने भएको छ।

 

धितोपत्र बोर्डको सञ्चालक समितिले उक्त प्राथमिक निष्कासन स्वीकृति गर्ने निर्णय गर्ने बताइएको छ। “आउने साता बस्ने बोर्ड बैठकबाट आईपीओ स्वीकृति गर्ने निर्णय हुने छ,” नेपाल धितोपत्र बोर्डमा उद्योग वाणिज्य महासंघका तर्फबाट सञ्चालक रहेका सुरकृष्ण वैद्यले मेरो लगानीसँग भने।

वैद्यका अनुसार यसै साता निर्णय गर्ने तयारी बोर्डको थियो। जसको लागि बैठक पनि डाकियो। तर कोरम नपुगेपछि निर्णय हुन सकेन। खासगरि बोर्डमा कानुन मन्त्रालयका तर्फबाट सहसचिवले प्रतिनिधित्व गर्दै आएका थिए। हालै उनको सरुवा भएको कारण उनी बैठकमा उपस्थित हुन सकेनन्। जसका कारण बैठकमा कोरम पुगेन। अब आउने साता बैठक राख्ने तयारी बोर्डको छ र सोही बैठकबाट प्राथमिक निष्कासन स्वीकृत हुने छन्।

गएको पुस २० गते धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल आफ्नो कार्यकाल पुरा गरी बिदा भएका हुन्। सोही दिनदेखि प्राथमिक निष्कासन अनुमति रोकिएका छन्। करिब तीन महिनादेखि निष्कासन अवरुद्ध भएको भन्दै चौतर्फी रुपमा बोर्डको आलोचना हुँदै आएको छ। बोर्ड अध्यक्ष विहीन भएकै कारणले प्राथमिक निष्कासन स्वीकृत हुन नसकेको बोर्डले बताउँदै आएको थियो। तीन महिना हुन लाग्दै गर्दा समेत बोर्ड अध्यक्षको लागि आवेदन दिएका १९ आवेदकको अझै सर्ट लिस्ट समेत आउन नसकेपछि बोर्ड निष्कासन स्वीकृति रोक्नु हुन्न भन्ने पक्षमा उभिएको हो।

यस अघि धितोपत्र बोर्डले निबर्तमान अध्यक्ष रमेश हमाल बिदा भएकै दिन बुक बिल्डिङ विधि मार्फत प्राथमिक शेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सलाई अन्तिम पटक निष्कासन अनुमति दिएको थियो। त्यस यता करिब तीन महिना हुनै लाग्दा कुनै पनि कम्पनीले निष्कासन अनुमति पाएका छैनन्। अनुमति नपाउनुको मुख्य कारण भनेको अहिले धितोपत्र बोर्ड अध्यक्ष विहीन हुनु हो। उनको अनुपस्थितमा दैनिक काम गर्नको लागि अर्थ मन्त्रालयले बोर्डकै बरिष्ठतम् कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई जिम्मेवारी दिएको छ। तर आफूलाई प्राथमिक निष्कासन अनुमति दिने अधिकार नरहेको भन्दै उनले प्राथमिक निष्कासन स्वीकृति दिन नसक्दा प्राथमिक निष्कासन अवरुद्ध हुन पुगेको हो।

Read More