विगत तीन दशकको अवधिमा चीनको विश्व अर्थव्यवस्थामा भएको योगदान १० गुणाले बढेको छ । सन् १९९० तिर चीनको विश्व अर्थव्यवस्थामा लगभग २ प्रतिशतको मात्र योगदान रहेकोमा अहिले आएर चीनको योगदान १८ प्रतिशतभन्दा माथि पुगेको छ । उद्योगहरूको विकास र सहरीकरणबाट आर्थिक विकास गरेको चीन अहिले विश्वको वाणिज्य र वित्तीय केन्द्रबिन्दु बनेको, आधारशिला निर्माणमा विश्वलाई नै नेतृत्व प्रदान गर्न सफल भएको, १ सय २८ भन्दा बढी देशको मुख्य व्यापारिक साझेदार भएको र विश्व बजारलाई नै नयाँ रूप दिन सफल भएको मानिन्छ ।
चीन अहिले आएर दोस्रो ठूलो अर्थतन्त्र मात्र नभएर विश्वमा सबैभन्दा बढी विदेशी मुद्रा भण्डारण भएको देशका रूपमा पनि लिने गरिन्छ र कम र मध्यम आय भएका देशहरूलाई सरकारी ऋण उपलब्ध गराउने कार्यमा विश्वकै सबैभन्दा ठूलो ऋणदाताको रूपमा देखा परेको छ । सन् २०१३ अगाडि वार्षिक १० प्रतिशतभन्दा बढी दरमा जुन आर्थिक वृद्धिदर हासिल गरेको छ, त्यसले गर्दा पनि यो कार्य सम्भव भएको हो ।



