काठमाडौं : भारतको पुँजी बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले आज बिहीबार (मार्च २८) देखि सेयर खरिदबिक्री गरेकै दिन राफसाफ हुने ‘टि प्लस जिरो’ प्रणाली सुरु गरेको छ । सेबीको मार्च १५ मा बसेको बैठकले ‘टि प्लस जिरो’ सेटलमेन्ट प्रणालीको बीटा संस्करण (भर्सन) लाई वैकल्पिकरुपमा सुरु गर्न अनुमोदन गरेको थियो ।
सेबीले बिहीबारदेखि सेयर कारोबारको राफसाफमा ‘टि प्लस जिरो’ सेटलमेन्ट साइकललाई विकल्पको रुपमा प्रयोग गर्नसक्ने बताएको छ । सरोकारवालाहरुको प्रतिक्रियालाई ध्यानमा राख्दै सेबीले २५ वटा सीमित सेयरमा र सीमित धितोपत्र दलालहरुमार्फत मात्रै ‘टि प्लस जिरो’ को बीटा संस्करणको सुरुवात गरेको छ । सेयर खरिदबिक्री गरेकै दिन सेटलमेन्ट हुने यो साइकललाई अनिवार्य भने गरिएको छैन ।





