काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको रकम आफूले हिनामिना नगरेको स्पष्ट पारेका हुन्।
राज्य व्यवस्था समितिमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले गृहमन्त्रीको राजीनामा माग गरेका थिए। सांसद बडूले सहकारी प्रकरणमा नाम मुछिएकाले गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका थिए। उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भन्ने जनतालाई विश्वास दिलाउनका लागि भएपनि छानबिन अवधिमा बाहिर बस्न आग्रह समेत गरे। सांसदले बडूले सहकारीमा एक करोड जम्मा भएका रवि लामिछाने गृहमन्त्री हुन् या अन्य कोही व्यक्ति हुन् ? भन्दै प्रश्न समेत गरेका थिए।



