काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट हुने मोबाइल बैंकिङ, कनेक्ट आईपीएसलगायतका डिजिटल कारोबारमा ह्याक गरेर चोरी गर्नेको बिगबिगी बढेको छ। आमग्राहकले कारोबारको लगइन, पासवर्ड, ओटीपी (वन टाइम पासवर्ड) लाई गोप्य राख्दा राख्दै पनि यसको सिकारमा परेको बताउँछन् सुनसरी इनरुवा नगर–२ का शिवनन्दन मेहता।
सानिमा बैंक र लुम्बिनी बैंक इनरुवा शाखा कार्यालयको दुई खाताबाट कनेक्ट आईपीएसमार्फत १० लाख १० हजार रुपैयाँ ह्याकरले चोरी गरेको महिना दिन बित्यो तर उनले अझै न्याय पाएका छैनन्। यसबिच उनी चोरी भएको रकम पाउने आशामा सांसदहरूसम्म पुगे। उनले सम्बन्धित चारवटै बैंकका अधिकारीदेखि प्रहरी, प्रशासन, डेपुटी गभर्नर, सांसद, मन्त्री सबैसँग गुहार्न पुगे। सीआईबीले भने व्यक्तिगत केश भनेर दर्तासम्म पनि गर्न मानेन। महिनादिन बढी नाघिसक्दा पनि सुनुवाइ कत्तैबाट नभएको उनी दुःखेसोे पोख्छन्। उनी भन्छन्, ‘खाताबाट पैसा ट्रान्सफर भएको ५ मिनेट भित्रैमा बैंकमा पुगेर खाता बन्द गर्न अुनरोध गरें। तर प्रणालीबाट पारदर्शी हिसावले नै गएको भन्दै बैंकले तत्काल रोकेन। १० लाखलाई १० रुपैयाँ झै ठानेर बेवास्था गरियो। ग्राहकको पैसा सुरक्षित भएन। कसरी विश्वास गर्ने ?’



