केही समययता आन्तरिक अर्थतन्त्रमा चरम नैराश्यता देखिन्छ । बजार मागमा संकुचन आएको छ भने बैंकहरूमा कर्जा माग छैन । कर्जा असुली नहुँदा बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सुशासन कायम गर्न सहज हुने र ठूलो बैंक भएपछि सञ्चालन खर्च कम भएर बैंकिङ क्षेत्रमा नै ‘सिनर्जी’ ल्याउने भन्दै बैंकहरूलाई नै मर्जरमा प्रोत्साहन गरेको थियो । सोही अनुसार मर्ज भएर वाणिज्य बैंक संख्या पनि घट्दै गएको छ । तर, यथार्थमा मर्जर भएका बैंकहरूको वित्तीय विवरण मर्जरमा नगएका बैंकहरूभन्दा कमजोर देखिन्छ ।



