सदस्यहरूको आवश्यकता, आकांक्षा, शीप, ज्ञान र पेशाका आधारमा सामूहिक व्यवसायको माध्यमबाट सदस्यहरूको सामाजिक, आर्थिक र सांस्कृतिक आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विश्वका प्राय: सबै देशमा सहकारी संस्था अस्तित्वमा छन् । सहकारीहरू व्यवस्थित भई सदस्यहरूको सक्रिय सहभागितामा सदस्यहरूको आवश्यकतालाई सम्बोधन गर्न सकेमा सहकारीहरूको योगदान सदस्य, समुदाय एवं राष्ट्रको विकासमा महत्त्वपूर्ण हुन सक्छ । सहकारीले आफू कार्यरत क्षेत्रमा आफ्ना सदस्य र समुदायका लागि सम्पत्ति निर्माण, रोजगार र आयआर्जनको अवसर सृजना गर्न मद्दत पुर्याउन सक्छ । यसै गरी सहकारीले आत्मसहयोग र सहयोगको आधारमा सहअस्तित्वको भावना अङ्गीकार गरी समुदायमा शान्ति र सद्भाव कायम गर्न मद्दत पुर्याउन सक्छ ।



