भारतको सबैभन्दा धनी १ प्रतिशत जनसंख्याले गत आर्थिक वर्षमा देशको कुल आयको २२ प्रतिशत कमाएको छ । यो एक प्रतिशत जनसंख्याले नै भारतको कुल सम्पत्तिको ४० प्रतिशत आफ्नो कब्जामा राखेको हालै प्रकाशित एक अध्ययन रिपोर्टमा उल्लेख छ । यो स्थिति भारतका लागि समेत ऐतिहासिक रूपमा उच्च र अमेरिका जस्ता विकसित अर्थतन्त्रहरूको भन्दा पनि धेरै हो।
अर्थशास्त्रीहरू कुमार भारती, लुकास चान्सेल, थोमस पिकेट्टी र अनमोल सोमान्चीको सह-लेखन सो अनुसन्धान रिपोर्टले विश्वव्यापी रूपमा सबैभन्दा द्रुत गतिमा बढिरहेको ठुलो अर्थतन्त्र भारतको सम्पत्ति ठुलो मात्रामा जनसंख्याको सबैभन्दा धनी १% मा केन्द्रित भएको दाबी गरेको हो । उनीहरूलाई भारतको आधुनिक पुँजीपति वर्गको रूपमा सो रिपोर्टमा उल्लेख गरिएको छ। बेलायती औपनिवेशिक शासनकालको तुलनामा अहिले भारतमा सम्पत्तिको बाँडफाँड धेरै असमान भएको उनीहरूको दाबी छ ।



