प्राचीन समयमा राज्यको मुख्य उद्देश्य लोककल्याणकारी कार्य गर्ने हुन्थ्यो । समयक्रम बित्दै जाँदा राज्यले लोककल्याणका अतिरिक्त मानवीय सम्बन्ध, आर्थिक, सामाजिक रूपान्तरण, पूर्वाधार विकास, उत्पादन र उत्पादकत्व वृद्धि, जीवनस्तरमा सुधारलगायत कार्य समेत गर्नुपर्ने आवश्यकता महसूस हुन थाल्यो । लोककल्याणका कार्य मात्र गर्ने अवस्थामा राज्यले जनताबाट कर, शुल्क, दस्तुर जरीवाना आदि उठाउँथ्यो । यसैबाट लोककल्याणका कार्यसञ्चालन गरिन्थ्यो । तर, राज्यको कार्यक्षेत्र विस्तार हुँदै जाँदा आन्तरिक आयले मात्रै आवश्यकता पूरा गर्न नसकिने अवस्था भएपछि बाह्य सहायता लिनुपर्ने अवस्था आयो । यसरी राज्यको आवश्यकता पूरा गर्न अर्को देश वा संस्थाबाट सहयोग लिने कार्यलाई नै वैदेशिक सहायता भन्न थालियो ।



