बैङ्कको विश्व इतिहास नियाल्दा थाहा हुन्छ— उद्योग–व्यापारको सुरुवात र फैलावटसँगै बैङ्किङ क्षेत्रको फैलावट भएको हो । त्यसले इङ्गित गर्छ, उद्योगी–व्यवसायी र बैङ्कबिचको सम्बन्ध अन्योन्याश्रित, पुरानो एवं प्रगाढ हो तर नेपालमा ठ्याक्कै त्यसो हुन सकिरहेको देखिँदैन ।
नेपालका बैङ्कहरूले न उद्योगी व्यवसायीमैत्री भएर सेवा दिन सकिरहेका छन्, न त व्यवसायीले बैङ्कहरूप्रति सकारात्मक दृष्टिकोण राख्छन् । सीमित पँुजीपतिको अधीनका बैङ्किङ संस्थाहरू घेराबन्दीमा पर्नु र नेपाल राष्ट्र बैङ्कले पनि यिनीहरूबिचको सम्बन्ध प्रगाढ बनाउने हिसाबको भूमिका नगर्नुले सम्बन्धमा दरार सिर्जना भएका छन् । किनकि कुनै पनि देशमा उद्योग तथा व्यवसाय फस्टाउन बैङ्क–वित्तीय संस्थाहरूको ब्याजदर सस्तो हुनुपर्छ । ब्याजदर सस्तो र नवआगन्तुक उद्यमीले एफोर्ड गर्न सक्ने हुनुपर्छ । बल्ल उद्यमशीलता, उद्योग व्यवसाय फस्टाउने हुन्छ । भएभरको लगानी गरेर बैङ्कहरूलाई चर्को ब्याज तिर्न कसले पो लगानी गर्छ र ? त्यस्तो प्रकारको जोखिम लिनेहरू कमै मात्र हुन्छन् । फेरि व्यवसायीले पुँजीको जोहो गर्न जति बढी ब्याज तिर्छन्, त्यति नै उनीहरूले उत्पादन गरेका वस्तु तथा सेवा महँगा हुन्छन् । जसले गर्दा आजको विश्वव्यापीकरणमा उनीहरूका उत्पादनले अरु देशका उत्पादनसँग प्रतिस्पर्धा नै गर्न सक्दैनन् ।



