काठमाडौं– सरकारले अपेक्षा गरेअनुसार राजस्व असुली नभएपछि सार्वजनिक ऋणको भार थपिँदै गएको छ । त्यसमा पनि आन्तरिक ऋणको हिस्सा बढेर बाह्य ऋणबराबर पुग्न थालेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिना अर्थात् फागुनसम्म सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । सरकारले चालु आवको ८ महिनामा २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण थपेको छ । तर, यही अवधिमा पुरानो ऋणको साँवा १ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ तिरेको छ । ऋण थप्ने र तिर्ने दुवैलाई हेर्दा यो आठ महिनामा ९२ अर्ब ८३ करोड ऋण थप भएको हो ।



