शेयर बजारमा मार्च ‘फिबर’ देखिन थालेको छ। चैत नलाग्दै घट्न थालेको कारोबार मापक सूचकले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पायो। आइतबार नेप्से सूचक १०.६२ अंकले घटेर २०७०.२५ अंकमा झर्यो।
नेप्से सूचक आइतबार मात्रै घटेको होइन, तीन कारोबार दिनदेखि सूचक घट्दो क्रममा छ। गत फागुन ३० गतेदेखि घट्न थालेको सूचक चैत लागे यता लगातार घट्दो क्रममा छ। चालु वर्ष मात्रै चैतमा सूचक घटेको होइन, गत वर्षहरूमा पनि सूचक चैतमा घट्ने गरेको कारोबार इतिहास छ। गत वर्ष सूचक फागुनदेखि नै घटेको थियो। फागुन लागेदेखि नै घटेको बजार चैत मसान्तसम्म घटेको थियो। आर्थिक वर्ष ७८/७९ मा समेत बजार चैतमा घटेको इतिहास छ। त्यस वर्ष शेयर बजार माघ बाटै ओरालो लागेको थियो। असार लगेपछि मात्रै बढ्न सुरु गरेको थियो।





