पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गरिने भएको छ । आइतबार बाराही घाटमा आयोजना हुने कार्यक्रममा यो घोषणा गरिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा यो घोषणा हुने गरी आन्तरिक तयारी पूरा भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । बृहत् झाँकीसहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । यस अवसरमा हरिदेवी कोइराला, कन्दरा ब्यान्ड, प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवानलगायतको प्रस्तुति पनि कार्यक्रममा हुनेछ ।
गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो । पोखराको प्रचारप्रसार गरी यहाँका पर्यटन गन्तव्यहरुको प्रवद्र्धन गर्न तथा पोखरालाई अझ ब्रान्डिङ गर्न यो आवश्यक भएको मेयर आचार्यको भनाइ छ । राजधानी घोषणासँगै यहाँको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ तीनै तहका सरकारले काम गर्ने उनले बताए ।



