कृषि पेसामा आकर्षित गर्न सरकारले विभिन्न सहुलियत दिँदै आएको छ। किसानका लागि न्यूनतम समर्थन मूल्य समयमा तोकिदिनु पनि एक प्रकारको सहुलियत हो। न्यूनतम समर्थन मूल्यले नाफा सुनिश्चितता गर्छ। नाफाको सुनिश्चितता भएमा मानिसलाई काम गर्न जाँगर चल्छ र बढीभन्दा बढी उत्पादन गर्न अग्रसर हुन्छन्। जसले आपूर्तिको शृंखला अटुट राख्न मद्दत पुर्याउँछ भने बजार मूल्यलाई पनि नियन्त्रण गर्छ।
उपभोक्ताले सस्तोमा उपभोग गर्न पाउँछन् भने मूल्यमा देखिने उतारचढावलाई सन्तुलन कायम गर्छ। नेपाल राष्ट्र बैंकले बैंकमा अधिक तरलता भएको अवस्थामा रकम खिच्ने र बजारमा तरलता कम भएको अवस्थामा रकम पठाउने औजार प्रयोग गरेजस्तै खाद्यान्नको मामिलामा पनि अधिक उत्पादन भएको अवस्थामा किसानको फसल सरकारले ग्यारेन्टी गरेको मूल्यमा खरिद गरी मौज्दात राख्ने र कम भएको अवस्थामा बजारमा पठाउने संयन्त्र बनाउन सकिएमा उत्पादक र उपभोक्ता दुवैलाई फाइदा पुग्नेछ।



