लेखनाथ, चैत २ गते । नेपालको करिब मध्यभागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगको अग्रसरतामा चैत ४ गते आइतबार हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तय भएको छ । ०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।



