काठमाडौं । तत्कालीन सेन्चुरी कमर्शियल बैंकको कमसल धितो आरोपमा पक्राउ परेका १० जना बैंकर्सहरु बिहीबार छुटे लगत्तै अनुसन्धानको अर्को चरण सुरु भएको छ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको जनाएको हो ।
सीआईबीका अनुसार उनीहरूलाई हाजिरी जमानतमा छाडिएको हो । पहिलो चरणको अनुसन्धान सकेर अब दोस्रो चरणको अनुसन्धान थालिएको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका हुन् । नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट समेत सहयोग लिएर सो प्रकरणमा अब थप अनुसन्धान हुने भएको छ ।



