विराटनगर। पेपरलेस, फेसलेस र क्यासलेस भन्सारको अवधारणा कार्यान्वयन गर्नेतर्फ एक कदम बढाउँदै विराटनगर भन्सार कार्यालयले निर्यातमा अनलाइन प्रणाली शुरू गरेको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणा अनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो । मुलुकका प्रमुख १० नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा शुरू गरिएको हो ।
अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार कार्यालयको सिस्टममा अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि उपस्थित हुनु नपर्ने प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिए । उनका अनुसार सिस्टममा प्याकिङ लिस्टसहितको बीजक, उत्पत्तिको प्रमाणपत्र वा जीएसपी (जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) फर्म र भुक्तानीको कागज अपलोड गर्नुपर्छ ।


