अझै पनि देशको वर्तमान तथ्यांकले दिनको २ हजारमाथि युवा विदेश पलायन भएको देखाउँछ । युवा रोक्ने नीति भएर पनि कार्यान्वयन पाटोको अनियमितताका कारण यो डरलाग्दो आँकडा वर्तमानको सत्यताभित्र परेको छ ।
देशमा उद्यम र उद्यमशीलता हराउँदै जानु, शैक्षिक बेरोजगार बढ्नु, कृषिक्षेत्रलाई पाखा लगाउनु, भएका उद्योगधन्दा रुग्ण हुनु, शैक्षिक क्षेत्रले समयमा शैक्षिक क्यालेन्डरमा शिक्षण संस्था नहिँडाउनु, उद्यमीको असुरक्षा बढ्नु, पूर्वाधार विकासको नाममा बेथिति झाँगिनु, ज्ञान र सीपलाई अर्थमा राम्रोसँग जोड्न नसक्नु, कुशासन बढ्नु, अपारदर्शी गतिविधि मौलाउनु, देश हाँक्नेमा विधि र ज्ञानको कमी हुनु, हरेक कामको ज्याला कम हुनु, देशीय बैंकिङ संयन्त्रले सहुलियत तरिकाले ऋण प्रवाह गर्न नसक्नु साथै कठोर बन्नु, नीतिगत भ्रष्टाचारले जरा गाड्नु, कर्मचारीतन्त्रमा ढिलासुस्तीले बास गर्नु, खाइ–नखाइ तिरेको करको दुरुपयोग बढ्नुलगायत अन्य कारणले गर्दा देश विकर्षणमा परेको तथ्य सबैमाझ जगजाहेर नै छ ।



