सन् २०१६ मा चर्चित बेलायती म्यागजिन ‘द ब्यांकर’ले डा. रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेपछि धेरै नेपालीले खिसिट्युरी गरे । तर, २०७२ (सन् २०१५) मा गएको विनासकारी भूकम्पपछिको उद्धार, राहत र पुननिर्माणमा असाधारण काम गरेको भन्दै उनलाई त्यो उपाधि दिइएको थियो ।
भूकम्प गएलगत्तै डा. महतले तत्कालै अन्तर्राष्ट्रिय दाता तथा मित्रराष्ट्रहरुसँग संवाद गरी आपतकालीन उद्धार तथा राहतलाई १५ अर्ब जुटाए । पुननिर्माणसम्बन्धी सफल सम्मेलनमार्फत ४ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी सहयोगको प्रतिबद्धता ल्याउन सफल भए, त्यसमध्ये अधिकांश प्राप्त भयो पनि । भूकम्पलगत्तै २५ हजारभन्दा बढी घाइतेको सरकारले निःशुल्क उपचार गर्यो र ७ हजार ५ सयभन्दा बढीलाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल पुर्याएको थियो ।



